Press ESC to close

बालेन नेतृत्वको काठमाडौँ महानगरपालिका नै दोस्रो नम्बरमा भ्रष्टाचारमा चुर्लुम्म

काठमाडौं । अख्तियार दुरुपयोग र भ्रष्टाचारका मामलामा स्थानीय तह धेरै अगाडि देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक अनुसार पोखरा महानगरपालिका र काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य छन् भने भ्रष्टाचारको कडा विरोध गर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह हुन्। तर, शाहकै नेतृत्वमा रहेको काठमाडौं महानगर दोस्रो बढी भ्रष्टाचार हुने स्थानीय सरकार भएको अख्तियारमा परेका उजुरीहरूले देखाएको छ।

आयोगको ३४औँ वार्षिक प्रतिवेदन (२०८०/०८१) अनुसार, स्थानीय तहका निकायविरुद्ध परेका उजुरीमध्ये पोखरा महानगरपालिका पहिलो र काठमाडौं महानगर दोस्रो स्थानमा छन्।

तेस्रो, चौथो र पाँचौँ स्थानमा पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, र जनकपुर उपमहानगरपालिका छन्।

भ्रष्टाचारका उजुरी पर्ने शीर्ष १० स्थानीय तहमध्ये छैटौँमा छिपहरमाई गाउँपालिका, सातौँमा कृष्णनगर नगरपालिका, आठौँमा जलेश्वर नगरपालिका, नवौँमा राजपुर नगरपालिका र दशौँ स्थानमा हेटौँडा उपमहानगरपालिका परेका छन्।

‘यी १० स्थानीय तहमा मात्र ९.९८ प्रतिशत उजुरी छन् भने बाँकी ९० प्रतिशत उजुरी अन्य स्थानीय तहसँग सम्बन्धित छन्,’ अख्तियारको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०/०८१ मा ७५३ वटै स्थानीय तहहरूमा १९ हजार १०६ वटा उजुरी परेको थियो। तीमध्ये ४ हजार ८४३ उजुरी आर्थिक वर्ष ०७९/०८० बाट सरेर आएका थिए।

कुल उजुरीमध्ये पोखरा महानगरपालिकाको ३५९ वटा छन् भने काठमाडौँ महानगरपालिकाको २७५ उजुरी परेका छन्। पाँचौँमा रहेको जनकपुर उपमहानगरपालिकाको १७६ र हेटौँडा उपमहानगरपालिकाको १२२ उजुरी परेको छ।

‘कुल उजुरीमध्ये प्रतिशतमा हेर्दा पोखरा महानगरपालिकामा १.८८, काठमाडौं महानगरपालिकामा १.४४, पचरौता नगरपालिकामा १.२९ र सुवर्ण गाउँपालिकामा १.१५ प्रतिशत उजुरी परेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *