
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा ९ः५० बजे एउटा स्टाटस लेख्दै, बाढीले अवरुद्ध बनाएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी यातायात सुचारु गरिएको जानकारी दिए।
त्यसै स्टाटसमा उनले बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको जानकारी पनि गराए। पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई उनले धन्यवाद व्यक्त गरे।
११ मिनेटपछि उनले आफ्नो स्टाटस सच्याउँदै “पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत” गरिएको वाक्यलाई हटाएर, “हेवा खोलाको पुल मर्मत गरी यातायात सञ्चालन” गरिएको उल्लेख गरे। फेरि २३ मिनेटपछि उनले स्टाटस फेरि सच्याउँदै, “पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल र बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको” उल्लेख गरे।
यसपछि, ५ मिनेटमै स्टाटस पुन: सच्याउँदै, ओलीले लेखे, “बाढीले अवरुद्ध बनाएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा फट्के बिछ्याउने काम र बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ।”
प्रधानमन्त्रीले बारम्बार सच्याएको स्टाटसलाई विपक्षीहरूले चर्को आलोचना गरे। माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले ओलीको स्टाटसको स्क्रिनसट राख्दै प्रश्न उठाए, “प्रधानमन्त्रीज्यूलाई गलत सूचना दिने को हो? हेवा खोलामा बेलिब्रिज मर्मत गरेर सवारी सञ्चालन भएको छैन, केवल फट्के मात्र बनेको हो।” उनले थपे, “प्रधानमन्त्रीलाई गलत सूचना दिनु र यस्तो गरिमामय पदमा बसेर गलत सूचना प्रवाह गर्नु दुवै गलत हो।”
आङ्बोको यो स्टाटसपछि माओवादी समर्थक र ओलीका आलोचकहरू सक्रिय भए। धेरैले ओलीको पहिलो स्टाटसको स्क्रिनसट राखेर आलोचना गर्न छोडेका छैनन्।
हेवा खोलामा के भएको थियो?
असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाले पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज बगाएको थियो। यसअघि २०८० असारमा आएको बाढीले सडक पुल बगाएपछि बेलिब्रिज राखिएको थियो, तर यो वर्षको बाढीले त्यो बेलिब्रिज पनि बगाएपछि पाँचथर र ताप्लेजुङबीच सम्पर्क विच्छेद भयो।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले भने, “अहिले हेवा खोलामा दुई पाङ्ग्रे सवारी साधनका लागि फट्के निर्माण गरिएको छ। प्रधानमन्त्री ओलीले यसै फट्के बनेको विषय उल्लेख गर्नुभएको हो। अहिले मोटरसाइकलहरू आवतजावत गरिरहेका छन्।”
उनले भने, “हामी युद्धस्तरमा काम गरिरहेका छौँ। अबको २४ घण्टाभित्र बेलिब्रिजको विकल्प तयार पार्ने लक्ष्य लिएका छौँ।”
Leave a Reply