Press ESC to close

खेलाडी श्रीलंका पुगे, तर लगेज काठमाडौंमै छुट्यो

पोखरा । नेपाली यू–२० पुरुष भलिबल टोली अहिले श्रीलंकाको कोलम्बोमा छ । काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार कोलम्बो प्रस्थान गरेको थियो ।

श्रीलंकामा हुने काभा यू–२० पुरुष भलिबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ, जसमा नेपालले पहिलो खेल आयोजक श्रीलंकासँग खेल्ने तालिका छ ।

नेपाली टोली श्रीलंकाली एयरलाइन्समार्फत श्रीलंका पुगेको भए पनि, उनीहरुको लगेज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुट्न पुगेको छ ।

उनीहरुको फ्लाइट बिहीबार दिउँसो १:२० बजेका लागि तय गरिएको थियो, तर उडान साँझ ६ बजे मात्रै भएको थियो । उडान ढिला भए पनि टोली श्रीलंका पुगेको थियो, तर लगेज भने त्यहाँ पुगेको थिएन । टोलीले राति ९ बजे श्रीलंकामा पुगेर थाहा पायो कि उनीहरुको लगेज काठमाडौंमै छुटेको छ ।

विमानस्थलमा कुरा गर्दा पनि लगेज प्राप्त हुन सकेन, र एक दिन बितिसक्दा पनि खेलाडीले आफ्नो लगेज पाएका छैनन् ।

टोलीमा रहेका एक अधिकृतले भने, ‘दिउँसो फ्लाइट हुने भनेको साँझ ६ बजेपछि मात्रै फ्लाइट भयो । यहाँ आएपछि थाहा पायौं कि लगेज उतै छुटेछ । एयरलाइन्सले कसैको लगेज ल्याएको रहेनछ ।’

खेलाडीको लागि अत्यावश्यक सामान भएको लगेज छुट्दा उनीहरुले अभ्याससमेत गर्न पाएका छैनन् । ‘आइतबार हाम्रो खेल नै छ । अहिलेसम्म लगेज आएको छैन । अध्यक्षज्यूले (भलिबल संघ) दिल्ली हुँदै पठाएको जानकारी गराउनुभएको छ । हेरौं, अब कतिबेला आइपुग्छ,’ ती अधिकृतले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *