
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्नभन्दा पनि आफूलाई फसाउनको लागि राज्यका सबै संरचनाहरू प्रयोग भइरहेको दाबी गरेका छन्।
चितवनमा आयोजित सार्वजनिक सुनुवाइका क्रममा उनले सहकारीको समस्या समाधान गर्न मन्त्रिपरिषदबाट निर्णय गराइसकेको तर त्यसपछि सरकार ढालिएको बताए।
उनले भने, ‘छानबिन समितिमा सबैको ध्यान रवि लामिछानेतर्फ नै थियो। तर, राज्यका सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता नभएको स्पष्ट रूपमा उल्लेख गरिएको छ। त्यसको व्याख्या जसरी गरे पनि, त्यो पैसा ल्याउनमा मेरो कुनै भूमिका छैन। तर, सो पैसा ल्याएको सहकारीमा सेयर होल्डर भएकोले जिम्मेवारी लिनुपर्ने उल्लेख गरिएको छ।’
रविले प्रबन्ध निर्देशक बनेपछि कार्यकारी अध्यक्षले ल्याएको सफ्ट लोनको स्रोत कसैले पत्ता लगाउन नसक्ने बताए। उनले आफू राजनीतिमा आएको कारणले सहकारीको समस्यालाई छाडेर राज्यको ध्यान आफूलाई फसाउनतर्फ लागेको आरोप लगाए।
उनले थपे, ‘मैले कसैको पैसा ठगेको छैन। अहिले पनि प्रतिवेदनको हरेक पाना पल्ट्याएर कुन न्यायाधीशसँग, कुन वकिलसँग बहस गर्नुपर्ने हो, म तयार छु। गलत ढंगले फसाउन खोजेर कसैले सक्दैन। दुई वर्षसम्म सकिएन भने अझै खोज्नुस्, म अनुसन्धानमा सहयोग गर्न तयार छु।’
रविले सहकारीको रकम फिर्ता नभएसम्म आफू र आफ्नो पार्टीले निरन्तर पहल गरिरहने पनि बताए।
👇 Watch Video
Leave a Reply